विराटनगर : फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ। राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्।
क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।
समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो। त्यसबेला अर्जेन्टिना फाइनलमा पुग्नेमा धेरैलाई आशंका थियो। तर बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै अर्जेन्टिना पाचौं पटक फाइनल खेल्दैछ। दक्षिण अमेरिकी च्याम्पियन टोली अब एक खेलमा जित निकाले ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने पक्का छ।
नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो। सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भयो।
यो पटक समूह विजेताका रूपमा नक आउट पुगेको फ्रान्सले पोल्यान्ड, क्वार्टरफाइनलमा इङल्यान्ड र सेमीफाइनलमा मोरक्कोलाई हराएर फाइनलमा पुगेको हो। यो संस्करणको विश्वकपमा फ्रान्सले १३ गोल गर्दा पाँच गोल खाएको छ।