Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले उम्मेदवार भगबती चौधरी जितको नजिक



विराटनगर । प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बांकी हुँदा ५५ सय ३५ मतले नेकपा एमाले नेत्री भगवती चौधरीको अग्रता संगै उनि प्रतिनिधि सभा सांसदमा जितको नजीक रहेकी छिन।

प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६९३६ मत प्राप्त गरिन भने उनका निकटतम प्रतीद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदारले ३०६०१ मत प्राप्त गरेका छन् ।

आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ५५३५ मतान्तरले पछि पारेकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।

अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३(२)प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी छन् । सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ ।

को हुन् चौधरी ?

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीको जन्म २०२८ साल वैशाख २ गते औरवनी ३, सुनसरीमा भएको हो । उनको बुवाको नाम विरनलाल चौधरी र आमाको नाम लिटियादेवी चौधरी हो । उनका एक छोरा छन् ।

चौधरीले मानविकी संकायबाट समाजशास्त्र विषयमा स्नातकोत्तर र व्यवस्थापन संकायबाट स्नातक गरेकी छिन् । सरस्वती मावि औराबनीबाट एसएलसी गरेकी भगवतीले महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरमा आइकम र बीकम पढिन् । उनले स्नातकोत्तर क्याम्पस बिराटनगरबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।

२०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री बनेकी भगवती २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभासद भएकी थिइन् । तर २०७० सालको चुनावमा भने तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग सुनसरी ३ बाट पराजित भएकी थिइन् । तर उनले २०७४ को चुनावमा भने सुनसरी क्षेत्र ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छादारसँग हार बेहोर्नुपरेको थियो ।

चौधरीले क्याम्पस पढ्दा थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गरिन । २०४६ सालको आन्दोलनमा सक्रिय भएर काम गरेकी भगवती थारु विकास समन्वय परिषदको सदस्यदेखि उपाध्यक्षसम्म बनिन्। चौधरीले २०४८–०४९ सालमा रेडियो नेपालको जिल्ला सम्वाददाता भएर ६ महिना काम गरिन।

२०५१ सालमा ग्रामीण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२–०५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गरिन । चौधरी २०५९ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्य तथा २०६२ र ०६३ मा कोषाध्यक्ष भइन । गैरसरकारी संस्थामार्फत क्रियाशिल चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार