Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मंसिर १२ गतेसम्म सबै मतगणना गरिसक्छौं : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा र समानुपातिकतर्फको ८ दिनमा सक्ने बताएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ गतेको मतदानपछि प्रत्यक्षतर्फको मतगणना मंसिर ७ गते बेलुकीसम्म सकिने र त्यसको ५ दिनपछि समानुपातिकतर्फका मतगणना मंसिर १२ गतेभित्र ​सकिने बताएका हुन्।
आयोगको केन्द्रीय कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले प्रत्यक्षतर्फको मतगणना ७ गतेसम्म र समानुपातिकतर्फको मतगणना १२ गतेभित्र सकिने बताए ।
आयुक्त थपलियाले यसपटकको निर्वाचनमा बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न उम्मेदवारलाई चेतावनीसमेत दिए । उनका अनुसार मतदान सकिएपछि बाकसमा भएको मत अस्वाभाविक लागेमा पुनः मतदानको व्यवस्था गरिनेछ।
उनले मतदाताभन्दा मत बढी हुने अवस्था आएमा मतगणना हुनुअघि फेरि मतदान गरिने बताए। उनले यसपटकको चुनावमा धाँधली हुने स्थानमा हवाई गस्तीको समेत प्रबन्ध मिलाउने प्रयास भइरहेको जानकारी दिए।
चुनावका वेला हुने भोज भतेर नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म निकायले काम गरिरहेको जानकारी पनि दिए। आयोगले मतदानका दिन दिउँसो पनि पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ। उनले पर्सामा भेटिएको १५ लाख मतपत्र नक्कली भएको जानकारी दिए।
आयोगले मंसिर २२ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान भएको १८ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको सम्पूर्ण विवरण बुझाउने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार