विराटनगर : पाटीविरुद्ध गतिविधि गरेको भन्दै नेकपा एमाले सुनसरीले धरानका १० नेतालाई कारबाही गरेको छ । एमालेले बिहीबार प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कासहित जिल्ला स्तरका १० जना नेतालाई पार्टीबाट निष्कासित गरेको हो ।
एमालेले प्रदेश सदस्य कार्कीसहित उद्धव श्रेष्ठ, खगेन्द्र मेयांग्बो, नारायण भट्टराई, घनश्याम तिम्सिना, हरिहर प्यारा श्रेष्ठ, हरि तमाङ, राजकुमार राई, ठाकुरबहादुर कार्की र पहलमान बस्नेतलाई कारबाही गरेको जनाएको छ ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै उनीहरुलाई कारबाही गरेको एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।
नेकपा एमाले र जसपाबिचको तालमेलबाट सुनसरी क्षेत्र नम्बर १ मा जसपाका अशोककुमार राई उम्मेदवार बनेपछि उनीहरु रुष्ट भएका हुन् । उनीहरु एमालेका पूर्व नेता तथा यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेन्याङबोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कारबाहीमा परेकाहरु मेन्याङबोको चुनावी प्रचारप्रसारमा सक्रिय थिए ।