विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखेरल प्रति जनलहर बढ्दो छ ।
चुनावी अभियानमा रहेका उनलाई मतदाताको सर्मथन र साथ दिनानुदिन बढ्दो छ् । २९ वटै वडाका मतदाताको घर–घर पुगेर मत मागिरहेका पोखरेल २०७० सालमा संविधानसभा सदस्य हुँदा थालेका अधुरा कामहरु पूरा गर्न आफुलाई मत दिन आग्रह गरिरहेका छन् । जनताको घरदैलोमा पुगेर मत माग्दा उम्मेदवार पोखरेललाई मतदाताले आफ्नै घर आगनको व्यक्ति भएकाले र स्थानीय समस्या बुझ्ने हुँदा मत दिएर जिताउने बताएका छन् ।
यस अघिका जनप्रतिनिधि जितेर गएपछि गाउँ नर्फकिएकाले यसपटक पोखरेललाई जिताउने पक्षमा रहेको स्थानीय बल्ली सहनीले बताए । उनले भने ‘यहाँबाट ३० वर्षदेखि लगातार कांग्रेसले जितेर गएको छ । बाहिरका मान्छे उम्मेदवार भएर आउने, जित्ने र ठगेर जाने काममात्र भयो । हामीले देखिसकियो उनले भने, बाहिरका नेताबाट आश गर्नु बेकार रहेछ । यत्रो वर्ष अरुलाई हेरियो, अब एक पटक स्थानीयलाई हेछौँ ।’
सुनवर्षीका रमेश मण्डलले कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पाहुना उम्मेदवार भएको भन्दै पाहुनाले घरको समस्या थाहा नपाउने बताए । उम्मेदवार पोखरेल जहिल्यै खोज्दा भेट्न सकिने र आफ्नो पहुँचको नेता भएकाले आफु यसपटक पोखरेललाई मत दिने पक्षमा पुगेको उनले बताए ।
‘हाम्रो सबै परिवार काँग्रेस हो । तर, के गर्नु सुजाताले हामीलाई चिन्नुहुन्न ।’ कांग्रेसका एक क्रियाशील सदस्यले भने, ‘बरु ऋषिले जहिल्यै हालखबर त सोध्नुहुन्छ । पार्टी भनेर हुँदैन, त्यसैले यसपटक उहाँलाई हाम्रो परिवारको भोट ।’
प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी कोइराला एमालेका पोखरेलसँग प्रतिष्पर्धा गर्दैछिन् । नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट चुनाव जितेर पटक–पटक प्रधानमन्त्री बनेपनि सुजाता पहिलोपटक भोट माग्दै गाउँघरमा देखिन थालेकी हुन् । नेपाल सरकारको उपप्रधानमन्त्री र मन्त्री हुँदासमेत सो क्षेत्रका लागि कुनै काम नगरेको र सो क्षेत्रमा उनको कुनै योगदान नरहेको आरोप उनलाई स्थानीयले लगाएका छन् ।