विराटनगर : विराटनगरमा प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर–१९ स्थित घिनाघाटमा दोस्रो संस्करणको १ नम्बर प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस (एनवाईएफसी) विराटनगरको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । उद्घाटन गर्दै मेयर कोइरालाले व्यायामले मानिसलाई स्वच्छ राख्ने बताए ।
प्रतियोगितामा पुरुषतर्फ अजय मण्डल प्रथम हुँदा विशाल शर्मा द्वितीय र नरेन्द्रकुमार राजवंशी तृतीय भए । त्यस्तै महिलातर्फ रचना भट्टराई प्रथम, रमिताकुमारी कुवँर द्वितीय र नमिता श्रेष्ठ तृतीय हुन सफल भए ।
व्यायाम प्रतियोगिताका विजेताहरुले जनही क्रमशः १०, ७ र ४ हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश–१का १४ जिल्लाबाट ७० जना प्रतियोगीले सहभागिता जनाएका थिए ।
विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको पहिचानलाई समेत स्थापित गराउने बताए ।
सो अवसरमा प्रदेश प्रहरी कार्यालयका एसपी नविनराज राई, समाजसेवी विमल भट्टराई, एनवाईएफसी नेपालका अध्यक्ष सुकदेव कार्की, आयोजक संस्थाका अध्यक्ष सुमन बञ्जरालगायतले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।