विराटनगर । विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् भोजपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् ।
भोजपुरको हतुवागढी, घोरेटारमा आइतबार एक कार्यक्रमको आयोजना गरेर सो श्वेत पत्र सार्वजनिक गरेका हुन् । तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए ।
उनले भने ‘म मुख्यमन्त्री भएर तपाईंको घर आँगनमा भौतिक रुपमा आउन सकिन होला तर ४ सय २४ वटा आयोजनामा ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार ८ सय ६८ रुपैया बजेट लिएर प्रत्येक पालिकामा आएकोछु ।’
श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ ।
राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार छन् ।
श्वेतपत्रकाे पूर्ण पाठ हेर्न यहाँ क्लीक गर्नुहाेस्