Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएकाे छ।

जिल्ला अदालत काठमाडौंले बुधबार सन्दीपमाथि थप अनुसन्धान गर्नका लागि तेस्रो पटक म्याद थप गरेको हाे।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि असोज २४ र २७ मा अनुसन्धानका लागि म्याद थप गरिएको थियो। पछिल्लो पटक असोज २७ मा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए भने प्रहरीले पक्राउ गरेको थियो।

उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए। उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार