विराटनगर : नेकपा एमालेका नेता डिल्लीराम शर्माले पार्टी परित्याग गरेका छन् । एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका शर्माले टिकट वितरणमा असन्तुष्ट जनाउँदै पार्टी छाडेका हुन् ।
प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि उनले एमाले छाडेका हुन् । उनको नाम मोरङ १ ‘ख’ बाट सिफारिस भएको थियो । एमालेले यस क्षेत्रमा खड्ग बस्नेतलाई टिकट दिएको छ ।
स्थानीय कमिटीले आफ्नो नाम सिफारिस गरेकोमा पार्टीका केही व्यक्तिको स्वार्थका कारण पूर्वाग्राही ढंगले टिकट वितरण गरिँदा आफू अन्यायमा परेको उनले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।
टिकट वितरणमा पार्टीका स्थानीय नेता कार्यकर्ताको सल्लहा र आग्रहविपरीत एकतर्फी भएको भन्दै त्यसलाई नस्वीकार्ने उनले बताएका छन् । उनले आफू २०३५ सालअघिबाट एमालेमा जोडिएको जनाउँदै अब स्वतन्त्र जीवन जिउने उल्लेख गरेका छन् ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै सोही निर्वाचन क्षेत्रका अन्य १९ जना एमाले कार्यकर्ताले पनि पार्टी छाडेका छन् । एमाले केराबारी गाउँपालिकाका अध्यक्ष देवीलाल लिम्बुसहित १९ जनाले संयुक्त राजिनामा दिएका हुन् ।
टिकट वितरणमा असन्तुष्ट जनाउँदै शनिबार एमाले मोरङका सचिव रुपेश खतिवडाले पनि पदबाट राजिनामा दिएका थिए ।