विराटनगर : नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा हुने ‘सिएनआई एक्स्पो–२०२३’ मा विराट व्यापार संघले सहभागिता नजनाउने भएको छ ।
आगामी माघको तेस्रो साताबाट विराटनगरमा हुने मेलाको सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले विराट व्यापार संघलाई सहयोगी संस्थाका रुपमा समावेश गरेको थियो । माघ १९–२८ गतेसम्म चल्ने औद्योगिक महोत्वसमा सहभागी नहुने भन्दै बुधबार संघले एक विज्ञप्ती जारी गरेको छ ।
निकट भविष्यमा व्यापार संघले एकल वा अन्य शुभेच्छुक संघसंस्थाको सहकार्यमा छुट्टै औद्योगिक महोत्वस आयोजना गर्ने निर्णय भएको विज्ञप्तीमा भनिएको छ ।
‘नेपाल उद्योग परिसंघ प्रदेश १ ले सिएनआई एक्स्पो–२०२३ गर्ने निर्णय गरी हाम्रो संघको नामसमते सहयोगी संस्थाका रुपमा समावेश गरिएकाले संघले आफ्नो पूर्व निर्धारित योजना अनुसार विराटनगरमा विभिन्न संघ संगठनले गर्ने मेला महोत्सवमा सहभागी नहुने जानकारी गराउँछौ,’ विराट व्यापार संघका अध्यक्ष नरेशकुमारद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले स्वदेशी उत्पादन प्रवद्र्धनको उद्देश्यसहित माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर २ स्थित शंकरपुर मार्गको मैदानमा एक्स्पो आयोजना गर्दैछ ।
