विराटनगर । विराटनगरमा आउँदो माघमा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शन (सिएनआई एक्स्पो) हुने भएको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगरमा सिएनआई एक्स्पो हुने जानकारी दिएको हो ।
परिसंघले आफ्नै आयोजनामा आउँदो माघ १९ देखि २८ गतेसम्म विराटनगर २ शंकरपुरमा एक्स्पो लाग्ने जानकारी गराएको हो । दश दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी तथा बिक्री वितरण हुनेछ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
मेलाले कृषि आधुनिकीकरण, नयाँ प्रविधिको पहिचान, स्वदेशी उत्पादनको प्रवर्धनको र पर्यटन विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई बजारसँग जोडने उद्देश्यले एक्स्पो गरिएको मेलाको संयोजक राजेन्द्र राठीले बताए ।
एक्स्पोमा विविध मनोरञ्जन र सांस्कृतिक कार्यक्रमहरू तथा फन पार्क समेत रहने भएको छ ।
एक्स्पोमा स्वदेश तथा विदेशका विभिन्न उत्पादनसहित ३५० स्टलहरू रहने सह संयोजक गिरिजा सारडाले जानकारी दिइन् । एक्स्पोमा नेपालसँगै भारत, चीन, बङ्गलादेश र पाकिस्तान लगायत अन्य विभिन्न मुलुकका उत्पादनहरू बिक्री वितरणमा हुनेछन् ।
एक्स्पो करिब साढे ३ लाख बढी उपभोक्ताहरूले अवलोकन गर्ने अपेक्षा राखेको छ । करिब ५० करोड बराबरको कारोबार हुने अध्यक्ष घिमिरेले बताए ।