Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मावितर्फ अंग्रेजी र गणितको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीतर्फ शिक्षक पदको अंग्रेजी र गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
१५ चैत २०७८ र ९ असार २०७९ मा लिइएको लिखित सामान्य र विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजा अनुसार अंग्रेजी विषयका लागि ३७३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ३१४ सिटका लागि लिइएको लिखित परीक्षामा एक हजार २४९ जना परीक्षार्थी सहभागी थिए ।
परीक्षामा अमर्यादित कार्य गर्ने २ जनालाई आयोगले कारवाही गरेको छ । एउटाको परीक्षा रद्द गरिएको छ भने अर्कालाई दुई वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरेको छ ।
प्रदेश १ बाट १०४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ८० सिटका लागि लिइएको परीक्षामा ३३६ जना सहभागी थिए । परीक्षामा अमर्यादित कार्य गरेका एक जनाको परीक्षा रद्द गरेको छ ।
यस्तै शिक्षक सेवा आयोगले माध्यामिक तह गणित विषयको लिखित परीक्षाको पनि नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार माग गरेभन्दा ४७।२० प्रतिशत अनुत्तीर्ण भएका छन् ।
आयोगले सबै प्रदेश गरी २८६ रिक्त रहेको दरबन्दीको लागि जम्मा १३५ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । नतिजा अनुसार ५२।७९ मात्रै उत्तीर्ण भएका छन् । १३५ शिक्षक रिक्त दरबन्दीको लागि १३५ पदमा अन्तर्वार्ता समेत नहुने भएको छ ।
आयोगले प्रदेश नम्बर १ मा ७७ रिक्त शिक्षक पदको लागि परीक्षा सञ्चालन गरेकोमा जम्मा २८ जनाले मात्रै लिखित परीक्षा उत्तीर्ण गरेका छन् । बाँकी ४९ शिक्षक पदको लागि अन्तर्वार्ताका लागि समेत छनोट हुन सकेनन् । आयोगको अनुसार परीक्षामा १४० जना सहभागी भएका थिए ।
मधेश प्रदेशका विद्यालयहरुमा रिक्त रहेको गणित विषयको लागि १७ रिक्त दरबन्दीको लागि जम्मा चार जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । १५ जना सहभागी भएको परीक्षाबाट १३ पदमा अन्तर्वार्ताको लागि समेत छनोट भएको छैन ।
बागमति प्रदेशको लागि ५९ रिक्त दरबन्दीको लागि आयोगले परीक्षा सञ्चालन गरेको थियो । बागमतिमा पनि जम्मा ५४ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । विषयगत परीक्षामा १७७ जना सहभागी भएका थिए ।
गण्डकी प्रदेशमा ५१ शिक्षक दरबन्दी रिक्त रहेकोमा जम्मा ३२ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन् । १५० जना लिखित परीक्षामा सहभागी भएपनि बाँकी १९ शिक्षक पदको लागि खाली भएको छ ।
त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३७ जना रिक्त शिक्षक पदको लागि लिखित परीक्षा हुँदा जम्मा १४ जना उत्तीर्ण भएका छन् । परीक्षामा ७३ जनाले सहभागिता जनाएका थिए । कर्णाली प्रदेशमा २९ रिक्त दरबन्दीको लागि ६१ जनाले परीक्षा दिएका थिए । तर जम्मा ८ जनाले उत्तीर्ण गरेका छन् । २१ दरबन्दीका लागि अन्तर्वार्ता समेत नहुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको लागि १६ पदको लागि लिएको परीक्षामा जम्मा ११ जना मात्रै उत्तीर्ण भएका छन् । ४५ जनाले दिएको लिखित परीक्षामा ५ पदको लागि अन्तर्वार्ता दिने उम्मेद्वार समेत नहुने भएको छ ।
आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि चैत १५ गते सामान्यतर्फको र असोज ९ गते विषयगत सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २८ र २८ गते अन्तर्वार्ताको हुने जनाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार