Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने



काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।

निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब तात्दै छौं,’ एक आयुक्तले  भने ।सरकारका एक मन्त्रीका अनुसार आगामी साताको सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीको सल्लाह अनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश आयोगलाई पठाइसकेका छन् ।आयोगले भने यसअघि नै गत २२ असारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन एकै चरणमा गर्नेगरी सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको छ ।आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै सोहीअनुसारको समय माग गर्दै आएको छ । प्रधानमन्त्रीलाई सो विषयमा आयोगले ध्यानाकर्षणसमेत गराइसकेको छ ।

आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्ब ८० करोड खर्च भएको थियो ।आयोगले हाल देशभर मतदाता नामावली संकलनको काम गरिरहेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता जारी छ ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकालाई समेत आयोगले सोही जिल्लाको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्नेगरी सुविधा दिएको छ ।त्यस्तै, काठमाडौं उपत्यकासहितका केही जिल्लामा अनलाइन प्रणालीमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ । मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् । यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा, आयोगले इमेलमार्फत पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ ।अर्यालका अनुसार माग भएका आवश्यक कागजात पेस गरेर सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा अनलाइन प्रणालीमार्फत निवेदन दिएर नामावली सच्याउन सकिनेगरी व्यवस्था गरिएको छ ।

नामावली दर्ता रोकिएपछि नयाँ दर्ता भएका नामउपर छानबिन गर्नेसहितका कार्यक्रम तय गरिनेछ । आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि दर्ता भएका कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार