Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडासम्मै मतको लेखाजोखा गर्दै गठबन्धन



काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन् । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन् ।

सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका आधारमा केन्द्रबाट निर्णय लिने तयारी छ । स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषणात्मक अध्ययन गरेर केन्द्रमा प्रतिवेदन पठाउने तयारी गरेका छन् । स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ ।

‘आइतबार मात्रै मधेस प्रदेशमा गठबन्धनको बैठक बसेको थियो । बैठकले जिल्ला तहका संयन्त्रहरूलाई त्यहाँको अहिलेसम्मको यथार्थ धरातलको विश्लेषण गरेर २२ गतेभित्र रिपोर्ट प्रदेश संयन्त्रलाई बुझाउन भनिएको छ,’ एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादवले भने, ‘त्यो रिपोर्टअनुसार सबैले गठबन्धनलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने समझदारी भएको छ ।’

इटहरीमा शनिबार बसेको पाँच दलको प्रदेश १ स्तरीय बैठकले १ सय ३७ वटै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति उद्धव थापाले गत स्थानीय तह निर्वाचनको मतभारलाई आधार मानेर तालमेल गर्ने निर्णय भएको बताए । ‘बैठकले सबै दलका जिल्ला नेतृत्वलाई तालमेलका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिने निर्णय गरेको छ,’ उनले भने, ‘पालिका र पदको भागबन्डा गर्दा जनमतको मापदण्डलाई आधार मानिने छ ।’ बैठकले कांग्रेसका प्रदेश सभापतिको संयोजकत्वमा गठबन्धन संयन्त्र गठन गरेको छ । सोही संयन्त्रले निर्वाचनमा संयुक्त परिचालन र अनुगमन गर्ने कांग्रेस प्रदेश सभापति थापाले बताए । बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्वाङ, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र जसपाका प्रदेश कोषाध्यक्ष उमेश थापा सहभागी थिए ।

अर्घाखाँचीमा केन्द्रमा चुनावी गठबन्धनको निर्णय नहुँदै फागुन २९ मा पाँचदलीय संयन्त्र गठन भएको थियो । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले प्रमुख प्रतिपक्षी एमालेविरुद्ध एकढिक्का भएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय भएको बताए । २०७४ को स्थानीय तह निर्वाचनमा पनि अर्घाखाँचीमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । जिल्लाका ६ पालिकामध्ये ४ वटामा तालमेल भएकोमा मालारानी गाउँपालिकाबाहेक अन्यमा सफल भएको थियो । माओवादी नेता टोपबहादुर रायमाझी पार्टीको ठूलो हिस्सासहित एमाले प्रवेश गरेपछि गठबन्धनलाई चुनौती थपिएको छ । ‘हामीले पालिकास्तरमा पनि गठबन्धन दलको संयन्त्र बनाएर गतिविधि गरिरहेका छौं, तीनै तहका निर्वाचनमा एक भएर जाने सैद्धान्तिक सहमति भइसकेको छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार