विराटनगर : मोरङमा नेकपा (एमाले) का सवै जनसंगठनहरु निर्वाचन केन्द्रित अभियानमा होमिएका छन् । सो पार्टीको जनसंगठन समन्वय संयन्त्रले पार्टीका २२ वटै जनवर्गीय संगठनहरुलाई निर्वाचन केन्द्रित अभियानमा परिचालन गरेको हो ।
एमालेको जनसंगठन समन्वय संयन्त्रले पार्टीका सवै जनवर्गीय संगठनहरुलाई सांगठनिक र वैचारिक कामहरु सशक्त ढंगले अघि बढाउन समन्वय गर्ने गरेको छ । मोरङमा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य रविन थापाको नेतृत्वमा जनसंगठन समन्वय संयन्त्र निर्माण भएको छ । सवै जनवर्गीय संगठनहरु महत्वपूर्ण योजनाहरु बनाउदै सशक्त ढंगबाट चलायमान भएका छन् ।
जनसंगठन समन्वय संयन्त्रले पार्टीका सवै जनवर्षीय संगठनहरुको जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडास्तरीय कमिटीहरुको निरन्तर संयुक्त भेला र बैठक आयोजना गरी आगामी कार्ययोजनाहरु बनाउँदै व्यवस्थित ढंगले अघि बढिरहेको थापाले जानकारी दिए । पार्टी जिल्ला कमिटीको निर्देशनमा थापा नेतृत्वको जनसंगठन समन्वय संयन्त्रले कार्ययोजनासहित अघि बढाएका सांगठनिक र वैचारिक कामहरु प्रभावकारी देखिएका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङमा एमाले शानदार ढंगले विजयी भएको थियो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामसमेत एमालेको पक्षमा पार्न सवै जनसंगठनहरुलाई चुस्तदुरुस्त बनाइ परिचालन गर्न विशेष योजना जनसंगठन समन्वय संयन्त्रले बनाएको प्रमुख थापाको भनाइ छ ।
‘मोरङमा अहिले हाम्रो पार्टीका सवै जनसंगठनहरुलाई एक ढिक्का बनाएर निर्वाचन केन्द्रित अभियानमा हामी जुटेका छौँ ।’ जनसंगठन समन्वय संयन्त्रका प्रमुख थापाले भने, ‘जिल्लाका १५९ वटै वडामा संयन्त्रहरु निर्माण गरेर सम्पूर्ण शक्ति निर्वाचनमा परिचालन हुनेछ ।’ उनले पार्टीलाई आगामी निर्वाचनमा मोरङका सवै प्रतिनिधिसभा र प्र्रदेशसभा निर्वाचन क्षेत्रमा विजयी गराउन आफूहरु रणनीतिक ढंगले अघि बढ्ने जानकारी दिए । थापाले आगामी निर्वाचनमा मोरङ जिल्ला एमालेको ‘लाल किल्ला’ बन्ने दावी गरे ।
सांगठानिकरुपमा मोरङमा नेकपा (एमाले) निकै शक्तिशाली छ । एमालेको देशभरिमा सवैभन्दा धेरै पार्टी सदस्य मोरङमा छन् । सोही कारण गत स्थानीय तहको निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनलाईसमेत पराजित गर्दै जिल्लाका अधिकांश पालिका र वडाको नेतृत्वमा एमालेले एक्लै जितेको थियो ।
मोरङमा निकै शक्तिशाली रहेका कारण एमालेलाई पराजित गर्न नसकिने भन्दै सत्ता गठबन्धन अत्तालिएको देखिन्छ । मोरङ नेकपा (एमाले) र सो पार्टीका सवै जनसंगठनहरु सशक्त रहेका कारण सत्ता गठबन्धनमा निराशा देखिएको छ ।