Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शैक्षिक स्तर बृद्धि गर्न विभिन्न कार्यक्रम ल्याइने छ– ढकाल



विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले विपन्न, अल्पसंख्यक तथा पछाडी पारिएका समुदायका बालबालिकाको शैक्षिक सुधारका लागि विशेष कार्यक्रम ल्याइने बताए ।
शुक्रबार क्षेत्रका विभिन्न स्थानमा मतदातासंगको भेटमा उहाँले विशेष गरी छोरीहरुको शिक्षामा पहुँच बृद्धि गर्ने किसिमका कार्यक्रमहरु ल्याइने बताएका हुन् । विद्यालय टाढा भएर पढाइलाई निरन्तरता दिन नसक्ने विपन्न समुदायका छात्राहरुका लागि साइकलको व्यवस्था मिलाइन उनले बताए। ढकालले यस समुदायको जीवनस्तर उकास्न बालबालिकाको शैक्षिक स्तर बृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि विभिन्न कार्यक्रमहरु ल्याइने बताए।
यस्तै धेरै परिवारको लागि आयआर्जनको माध्यम बनेको सिटी रिक्सालाई मध्यनजर गर्दै विभिन्न स्थानमा विद्युतिय फास्ट चार्जिङ स्टेशनहरु निर्माण गर्ने र यसका लागि निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने उनकाे भनाइ छ । ढकालले भने ‘तपाईंहरुले मलाई विश्वास गरेपछि यहाँका जनताको जीवनस्तर उकास्नु मेरो धर्म हो । त्यसका लागि मेरो अधिक प्रयास रहन्छ ।’ ढकाल यतिवेला मतदाताका घरघरमा पुगेर सुझाव लिने र समस्या बुझ्ने अभियानमा सक्रिय छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार