Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ढकालसंग युवाको माग, खेल मैदान र कभर्ड हल चाहियो



विराटनगर : मोरङ क्षेत्र नंं. ४ का युवाहरुले चुनावी अभियानमा बेलबारी ७ को घरदैलोमा पुगेका नेकपा एमालेका प्रतिनिधिसभा सदस्य विनोद ढकालसंग खेल मैदान र कभर्ड हलको माग गरेका छन् ।

क्षेत्रका जनतासंग सुझाव संकलन गर्दै घरदैलो अभियानमा रहनुभएका ढकाललाई सोमबार बेलबारी नगरपालिका ७ का युवाहरुले खेलकुदको विकासमा ध्यान दिन सुझाव दिएका हुन् । यस्तै त्यहाँका जनताले रोजगारी, सिचाईं, बाटोघाटोलगायतका समस्याका बारेमा ढकाललाई ध्यान दिन सुझाव दिए ।

उम्मेद्वार ढकालले आएका सुझावहरु अत्यन्तै सान्र्दभिक रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने बताए । खेलकुदको विकास र खेलाडीको प्रर्वधनका लागि मोरङ क्षेत्र नं. ४ मै पर्ने बैजथानपुरको क्रिकेट रंगशालालाई खेल ग्रामको रुपमा विकास गर्ने बताए ।

उनले भने ‘खेलग्राममा विकास गरेसंगै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरु हुन्छन् । जसले खेलाडीहरुको उत्पादन र व्यवसायीकताको विकास हुन्छ ।’ यस्तै विभिन्न क्षेत्रमा रहेका खेल मैदानहरुको स्तरोन्ती र आवश्यकता अनुसारका कर्भडहलहरु निमार्ण गर्दै लगिने उनले बताए । खेलकुदको विकासले मात्र युवालाई सिर्जनशील र उत्पादनशील बनाउँने भन्दै उनले नेकपा एमालेले खेलकुदलाई प्रथमिकतामा राखेर कार्यक्रमहरु ल्याएको उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार