विराटनगर । नेपाली कांग्रेस बीपीले प्रदेश १ का १४ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको छ।
मोरङको विराटनगरमा शनिबार प्रदेश १ स्तरीय कार्यकर्ता भेलामा १४ वटै जिल्लाबाट उम्मेदवारी दिने निर्णय गरेको हो।
भेला आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य अशोक पौडेलले प्रदेश १ का ४४ प्रतिनिधिसभा र ८८ प्रदेशसभामा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरिएको जानकारी दिए।
उनले मंसिर ४ का लागि तय भएको संघीय र प्रदेशिक निर्वाचनमा अन्य राजनीतिक शक्तिसँग एकता गर्न सकिने बाटो पनि खुला राखिएको बताए।
‘प्रदेश १ का १४ जिल्लाका ४४ संघीय र ८८ प्रदेशमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने भेलाले निर्णय गरेको छ,’ पौडेलले नेपालखबरसँग भने, ‘अन्य राजनीतिक शक्तिसँग चुनावमा कार्यगत एकता गर्न सकिने पनि हाम्रो निष्कर्ष छ।’
उनले निर्वाचन आयोगमा समानुपातिक सूची दर्ताका लागि काठमाडौँमा भदौ २७ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने पनि जानकारी दिए।
प्रदेश १ स्तरीय कार्यकर्ता भेलामा केन्द्रीय सभापति सुशीलमान शेरचन, वरिष्ठ उपसभापति कर्ण मल्ललगायतको सहभागिता रहेको थियो।