काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पार्दै पद त्याग नगर्ने अडान दोहोर्याएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रमाण नभएको आरोपमा पद छाड्नु लोकतान्त्रिक परम्पराविपरीत भएको बताए।
‘कुनै तथ्य र प्रमाणसहित दोष देखिएमा म पदमा बस्न अयोग्य ठहरिन्छु’, उनले भने, ‘तर केवल अड्कल र आशंकाका आधारमा कुर्सी छाड्नुपर्ने चलन लोकतन्त्रको मान्यता होइन।’
लेखकले आफूविरुद्ध राजनीतिक षड्यन्त्र भइरहेको आरोप लगाउँदै रास्वपा नेतृत्वले नक्कली पीडितमार्फत कीर्ते उजुरी दर्ता गराउने प्रयास गरिरहेको दाबी गरे। उनले त्यस्ता कार्य गर्नेहरूलाई कानुनी कारबाहीको चेतावनीसमेत दिएका छन्।