काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित अर्बपति एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको सम्बन्ध “अब सकिएको ठान्छु” भन्दै पुनः जोड्ने इच्छा नरहेको स्पष्ट पारे।
ट्रम्प र मस्कबीचको सम्बन्धमा चिसोपन मस्कले ट्रम्पको “बिग ब्युटिफुल बिल” कर र खर्च विधेयकको आलोचना गरेपछि चर्किएको हो। मस्कले यस विधेयकले खर्बौं डलर घाटा बढाउने र सरकारी खर्च कटौतीको प्रयास विफल पार्ने बताएका थिए।
पछिल्ला दिनमा ट्रम्पले मस्कको व्यवहारप्रति निराशा व्यक्त गर्दै ट्रुथ सोसलमा मस्कलाई “पागल” भनेका थिए। मस्कले पनि ट्रम्पलाई विवादास्पद व्यक्ति जेफ्री एप्स्टिनसँग जोडेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन केही समयपछि हटाइएको थियो।
ट्रम्पले मस्कका कम्पनीहरूसँग भएका सरकारी ठेक्काहरू रद्द गर्ने चेतावनीसमेत दिएका छन्। मस्कले भने आगामी मध्यावधि निर्वाचनमा ट्रम्प विरोधी डेमोक्रेटहरूलाई समर्थन गर्न सक्ने संकेत दिएका छन्।
ट्रम्प–मस्क सम्बन्धमा यसरी देखिएको दूरी अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ।