काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको गंगानानी क्षेत्रमा एक चार्टर्ड हेलिकोप्टर दुर्घटनामा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डेले दुर्घटनामा मृत्यु हुनेको संख्या पुष्टि गरेका छन्। हेलिकोप्टरमा सातजना सवार थिए, जसमा ६ यात्रु र एक पाइलट थिए।
भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार, उक्त हेलिकोप्टर गुजरातको अहमदाबादबाट चार्टर्ड गरिएको थियो। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताइएको छ।
दुर्घटनामा एरो ट्रान्स सर्भिस प्राइभेट लिमिटेडको बेल ४०७ भीटी–ओएक्सएफ मोडेलको हेलिकोप्टर संलग्न रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले उद्धार र राहत कार्यमा तीव्रता दिन निर्देशन दिएका छन्। उनले दुर्घटनाको कारणबारे छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका छन्।
दुर्घटनाको छानबिन भारत सरकारको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले गर्ने भएको छ।