काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले यात्रुवाहक रेलमा आक्रमण गरी यात्रुहरूलाई बन्धक बनाएका छन्।
क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस लक्ष्य बनाइएको यो आक्रमणको जिम्मेवारी पृथकतावादी समूह बलुच लिबरेशन आर्मी (बीएलए) ले लिएको छ।
बीबीसी उर्दू का अनुसार पाकिस्तानी सेनाले अहिलेसम्म १०४ यात्रु उद्धार गरेको दाबी गरेको छ भने भिडन्तमा १६ विद्रोही मारिएका छन्।
रेलवे अधिकारीहरूका अनुसार ९ वटा डिब्बा रहेको उक्त रेलमा ४०० भन्दा बढी यात्रु सवार थिए। आक्रमणपछि ८० यात्रु मच्छ रेलवे स्टेसन पुगेका छन्, जहाँ उनीहरूलाई प्राथमिक उपचार प्रदान गरिएको छ।
पाकिस्तानका गृह राज्यमन्त्री तलाल चौधरी ले केही यात्रुलाई विद्रोहीहरूले रेलबाट ओरालेर पहाडी क्षेत्रमा लगेका बताउँदै उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।