विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताएका छन । आज झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताए । खेलकुद विकास बोर्डको माध्यमबाट खेलकुदका प्रतियोगिता र खेलकुदको विकास र खेलकुदका संरचनाहरु बनाउने काम भइरहेको उनले जानकारी दिए।
नेपालमा खेलकुदका संरचनाहरु कम रहेका र भएका संरचना पनि स्तरीय नहुँदा विश्व खेलकुद जगतमा अपेक्षाकृत सफलता पाउन नसकेको मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले खेलकुदमा भविष्य नदेखेर खेलाडीहरु पलायान भइरहेको नजिकबाट हेरेर त्यसलाई पनि समाधान गर्ने गरी काम अघि बढाएको जानकारी दिए ।
खेलाडीहरुको वृत्ति विकास गर्न र खेलाडीहरुको जीवन निर्वाहको कुरा खेलकुदको विकाससँग सँगै गर्नु पर्ने उनले उल्लेख गरे। । मुख्यमन्त्री कार्कीले राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको विकास गर्न प्रदेशमा इन्डोर प्रतियोगता गर्ने गरी संरचना तयार गरिने जानकारी दिए। उनले यो वर्षमा जग्गा प्राप्तिको काम भएको र अर्काे आर्थिक वर्षबाट संरचना निर्माणको काम गरिने बताए ।