विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का सुरु गर्ने भएको छ ।
कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न आज विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गर्ने तय गरिएको जनाएको छ ।
जसअन्तर्गत कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा एक एक दिन अध्यक्ष प्रचण्डसहितका सम्पूर्ण पदाधिकारीको टोली अभियानमा खट्ने माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले जानकारी दिए । जसअनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीमा उद्घाटन हुने, बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।
फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने माओवादीले जनाएको छ । यस्तै फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने तय भएको छ ।
अभियानको क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव र उपमहासचिवहरुसहितको केन्द्रिय टोली सबै कार्यक्रममा सहभागी हुने अध्यक्ष नेम्वाङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै माओवादी कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार)ले निरन्तर अभियान संचालन गरेर माओवादीलाई ६४ सालकै हैसियतमा फर्काउने दाबी गरे । माओवादीले ६४ सालमा प्रत्यक्ष र समानुपातिक गरेर २३८ सिट जितेको थियो भने झापा, मोरङ र सुनसरीको २२ सिटमा १० सिट जितेको थियो ।
‘हामीले त्यसबेला झापामा ५ सिट, मोरङमा ४ सिट र सुनसरीमा १ सिट जितेका थियौं । किराँतमा त्यसबेला दुई तिहाई जितेका थियौं । लिम्बूवान अलिक कमजोर भयो । अहिले हामी ६४ फर्काउन लागेका छौं,’ उनले भने ।
यसैबीच माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद बैठकले १२ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । फागुन ३ गते बसेको उक्त बैठकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकार्यको बिरोधमा आन्दोलनरत पक्षलाई गोलिहानी घाइते बनाएको घटनाको घोर भत्सर्ना गरिएको छ । उक्त विषयमा बार्ता मार्फत समाधान खोज्न र तत्कालका लागि निर्माण रोक्न आग्रह गरिएको छ ।
यस्तै गत भदौ असोजको बर्षापछि आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई क्षतिपूर्ति दिन र भत्किएको पुल बाटोघाटो, खाने पानी, सिंचाई लगायतका भौतिक संरचना तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।