काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै रास्वपाले दोश्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताउनुभयो । उहाँले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको आरोप लगाउनुभयो । ।
रास्वपाले सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउन माग गर्दै फौजदारी कानुन प्रणाली र संरचनात्मक प्रणाली सुधार गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
रास्वपाले सहकारीको वचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्न पनि सरकारसँग माग गरेको छ । सहकारीबारे छानबिन गर्न विगतमा बनेका कार्यदल तथा समितिको सुझाव कार्यान्वयन गर्न पनि उसले माग गरेको छ ।