काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि आज खेलाडी अक्सन आज हुँदैछ । दिउँसो २ बजे काठमाडौंमा हुने अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १ सय ४२ जना खेलाडीको सूचि तयार गरेको छ । अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्न पाउने र जम्मा ९० लाख रुपैयाँ खर्च गर्न पाउने छन् । त्यसमा पनि ग्रेड ‘ए’ र ‘सी’ का ३ ३ र ग्रेड ‘बी’ का ४ खेलाडी किन्नुपर्ने हुन्छ ।
ग्रेड ‘ए’का खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मुल्य १५ लाख तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम मूल्य १० लाख राखिएको छ । ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको छ । कुनै पनि ग्रेडमा अधिकतम मूल्यमा दुई वा सोभन्दा बढी टोलीले इच्छा व्यक्त गरेको खण्डमा भने गोला प्रथाबाट टोलीको टुंगो लाग्नेछ ।
एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा पोखरा, काठमाडौं, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टोली सहभागी छन् ।