काठमाडौं । संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली लागेर महिला तथा बालबालिकासहित ७० जनाको मृृत्यु भएको भन्दै घटनाले आतंकित बनाएको बताएकोछ ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ।
अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् । सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।
“हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौं”, संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले एक विज्ञप्तिमा भने। आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ ।”
गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।