हर्कपुर । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले १३ औँ दिन पूरा गरेको छ ।
बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा १३ औँ दिनमा कोशी प्रदेशका दुईवटा जिल्ला पार गरेर तेस्रो जिल्ला प्रवेश गरेको छ । मंलबार दिउँसो कोशी छिरेको यात्रा उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुर हुँदै खोटाङको हलेसीबाट सदरमुकाम दिक्तेल पुगेको हो ।
लगातार १३ औँ दिनदेखि यात्राको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गरिरहनुभएको छ । झुलाघाटदेखि ओखलढुंगाको हर्कपुरसम्मका सबै कार्यक्रममा अध्यक्ष ओली आफैँले पार्टीको धारणा राख्दै आएका छन्।
एमालेको यो अभियानले राजनीतिक दलका कार्यक्रम लामा हुन्छन्, बोल्ने वक्ताहरूको लाइन हुन्छ, दिक्क लाग्ने पट्यार लाग्दा कार्यक्रम हुन्छन् । हिम नदी जस्ता घण्टौँ बग्ने भाषण हुन्छन् भन्ने पुराना मान्यतालाई तोडिदिएको छ ।
एमालेको संकल्प अभियानको कार्यक्रममा सामान्यतः स्थानीय वस्तुस्थिति, समस्या र सम्भावनाको बारेमा प्रकाश पार्ने एक जना वक्ता हुन्छन्। त्यस पछि पार्टीको तर्फबाट जम्मा पार्टी अध्यक्षले पार्टीको आधिकारिक धारणा राख्छन र कार्यक्रम सकिन्छ ।
हजारौँ मान्छे भेला हुने कार्यक्रम कति बेला सुरु भयो, कति बेला सकियो पत्तै हुँदैन । पार्टी अध्यक्ष केपी ओलीले १० मिनेटदेखि बढीमा २० मिनेट समय लिन्छन्, त्यस पछि कार्यक्रम सोझै विसर्जन हुन्छ । कान टट्याउने गरी भाषण गर्ने र सुन्ने परम्परालाई तोड्दै यो अभियानमा नेकपा एमालेले नयाँ प्रयोग थालेको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू, सचिवहरू, थुप्रै स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो, प्रदेश अध्यक्षहरू, केन्द्रीय सदस्य लगायतको नेताहरू निरन्तर सहभागी हुनुहुन्छ, तर वक्ता एक जना मात्र । ’पार्टी अध्यक्ष स्वयम्ले बोलेपछि पार्टीको आधिकारिक धारणा गई हाल्यो नि, सबैले लाइन लागेर बोलेर समय किन बरबाद गर्नु पर्यो’, कार्यक्रमका सहभागी एमाले नेताहरूको भनाइ छ ।
कार्यक्रम सुन्न गएका कार्यकर्ता र आम नागरिकलाई पनि सुनौँ सुनौँ लाग्दा लाग्दै कार्यक्रम सकिन्छ । ‘कति राम्रो बाल्दै हुनुहुन्थ्यो, एक छिन अझै बोल्नु होला अध्यक्षले भन्ने लागेको थियो तर छोटो बोल्नुभयो’, मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित सभा सुन्न पुग्नु भएका एमालेका स्थानीय कार्यकर्ताले भने ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।