१९ जेठ । अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट वर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्षमाअस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी २०० बढी रोग लाग्ने गरेको छ ।
यस्तै प्रत्येक दस जना मध्ये एक जना विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् भने ४ लाख २० हजार खाद्य जनित रोगबाट मृत्यु हुने तथा झाडापखालाबाट करिब ५५ करोड बिरामी र २ लाख ३० हजारको मृत्यु हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विश्व खाद्य स्वच्छता दिवस मनाउने विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मोहन कृष्ण शर्माले खाद्य स्वच्छतामा ध्यान नदिँदा धेरै मानिसले अकालमा ज्यान गुमाइरहेको बताए ।
विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा यान्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विषालुको समस्या रहेको औँल्याएको छ ।
यसर्थ स्वस्थ तथा सबल जनशक्ति राष्ट्र निर्माणको महत्त्वपूर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य छ । यसै सन्दर्भमा विभागले “स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार” भन्ने नारा सहित विश्व खाद्य स्वच्छता दिवस २०२२ मनाइ रहेको छ ।