विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ को अवलोकन गर्ने अभिभावकहरुले प्रशंशा गरेका छन् ।
यो समारोह एउटा विद्यालय भित्रको कृयाकलाप मात्रै नभएर भव्य समारोह बराबर रहेको अभिभावकहरुले प्रतिकृया दिएका छन् ।
अभिभावकका रुपमा पुगेका युवा नेता रुपेश खतिवडाले कार्यक्रम भव्य रहेको प्रतिकृया दिए। यस्तै अर्का अभिभावक सुरेन्द्रमणि मण्डलले पनि विद्यालयले आयोजना गरेको यो कार्यक्रम विशेष रहेको बताए । आफ्ना बच्चासहित प्लानेटेरियमका अवलोकन गरेका उनले साच्चै राम्रो कार्यक्रमको आयोजना भएको बताए।
एभरेष्ट कलेज परिसरको एउटा क्षेत्रमा भव्य औपचारिक कार्यक्रम भइरहँदा कतिपय अभिभावक र विद्यार्थीहरुको समूह भने बाहिरपट्टि भएका स्टलका प्रदर्शनीहरु हेर्न, अनुहारमा चित्र बनाउन, विभिन्न परिकारहरु खान, पुस्तकहरु छान्न ब्यस्त थिए । विज्ञानका विभिन्न परियोजना तयार पारेर प्रदर्शनीमा राख्ने विद्यार्थीहरु भने आफ्ना प्रोजेक्टहरुका बारेमा अवलोकन गर्नेहरुलाई बुझाइरहेका थिए । कतिपय विद्यार्थी तथा अभिभावकहरु प्लानेटेरियमको अवलोकनमा लाम लागिरहेका थिए । यहाँको दृष्य हेर्दा साच्चै हामीले बाहिर हेर्न एक्स्पोमा पुगेजस्तै अनुभूति भएको अर्का अभिभावक बलराम गिरीले बताए। कार्निभलको दोस्रो दिन कक्षा ६ देखि १२ कक्षासम्मका अभिभावक तथा विद्यार्थीको सहभागितामा अभिभावक दिवस पनि मनाइएको छ । भव्य समारोहमा विद्यार्थीहरुले गायन, नृत्य, तथा बाद्यवादन, तथा संस्कृति झल्कने विभिन्न कृयाकलाप प्रस्तुत गरेको अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध बनाए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्दिकुमार राजभण्डारीले एभरेष्ट स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए। उनले भने, ‘नीजि विद्यालयले पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्, ति मध्ये एभरेष्टले गुणस्तरीय शिक्षाका लागि गरेको मेहनत सराहनीय छ । उनले प्रदेश १ को राजधानीमा रहेको एभरेष्ट स्कुल र सोलुखुम्बुको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलबिच सहकार्य गर्न प्रस्ताव समेत राखेका छन् । उनले यहाँ र त्यहाँका विद्यार्थीबिच अन्तरघुलन गराउन सक्दा संस्कृति रहनसहन, भौगोलिक अवस्था तथा शैक्षिक गुणस्तरका सवालमा महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रविधि सीप र संस्कारलाई एकसाथ अवलम्बन गर्दै अघि बढेको बताए । उनले २१ औं सताब्दिका बालबालिकालाई हामीले निखार्दै गर्दा २२ औं शताब्दीको ख्याल गरेर अघि बढ्नुपर्छ, हामी त्यसैगरि अगाडि बढ्ने प्रयास गरिरहेका छौं । शुक्रबारदेखि सुरु भएको कार्निभल भोली विद्यार्थीकलाकारहरुका साथमा राष्ट्रिय कलाकार कालिप्रसाद बाँस्कोटा अस्मिता अधिकारीलगायतको सांगितिक प्रस्तुती पछि समापन हुने विद्यालयले जनाएको छ । आइतबार दिउँसो १ बजेदेखि एभरेष्ट कलेज परिसरमा सांस्कृतिक कार्यक्रम हुने भन्दै प्रिन्सिपल पुरीले अवलोकनका लागि समेत आग्रह गरेका छन् ।