विराटनगर । नेकपा एमाले मोरङले मोरङका सबै स्थानीय तहमा भइरहेको मतगणना स्थगित गराउने चेतावनी दिएको छ ।
विनाकारण रंगेली नगरपालिकाको मत गणना रोकिएको भन्दै एमालेले अन्य स्थानीय तहको मत गणना पनि रोक्ने चेतावनी दिएको हो । राज्य संयन्त्रको प्रयोग गरि मत गणना स्थगित गरेकोले अन्य पालिकाको मत गणना पनि स्थगित गर्ने चेतावनी दिनु परेको एमाले मोरङ स्रोतले जनाएको छ ।
मत गणना स्थतीतको घटना गम्भिर भएको बताउँदै एमाले मोरङका अध्यक्ष ऋषि पोखरेलले राज्यको यहि रबैया रहि रहे एमाले चुप लागरेर नबस्ने बताए ।
रंगेलीमा शनिबार राति ११ बजेदेखि मत गन्ने काम रोकिएको छ । मतगणनामा हुलहुज्जत भएको र मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै नेपाली काँग्रेसलगायतका दलहरुले आपत्ती जनाएपछि गणना स्थगित भएको हो ।
राति कांग्रेस सहितका राजनीतिक दलका कार्यकर्ताले मतगणनास्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए । वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको भन्दै एमालेबाहेकका दलहरुले गणना स्वीकार गर्न नसकिने जनाएको छन् ।