Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुढीगंगामा एमालेको ३३ बुँदे प्रतिवद्धता, रोजगारी निर्माणलाई प्राथमिकता



विराटनगर । नेकपा एमाले बुढीगंगाले आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
‘सवैको साथ बुढीगंगाको विकास’ भन्ने नाराका साथ गाउँपालिकाले विद्यालयस्तरीय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य, सडक, रोजगार, कृषि, पर्यटन, खेलकूद, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सवै क्षेत्रलाई समेटेर तिनको विकास र प्रवद्र्धन गर्ने प्रतिबद्धता तयार गरेको हो ।
गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार (थारु)ले गाउँपालिकालाई पाँचवर्ष भित्रमा नमूना बनाइने प्रतिबद्धता जनाए । उनले बुढीगंगा क्षेत्रमा रहेका रोजगारीमूलक उद्योगहरुलाई विशेष सहुलियत र करमा समेत छुट दिइने बताए । पर्यटन प्रर्बद्धनका लागि थारु सँस्कृति झल्कने खालको ‘होम स्टे’ निर्माण गरी आन्तरिक आयबृद्धि गरिने, महिलालाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने, स्वास्थ्यमा जनताको पहुँच, रोजगारी सिर्जना गर्ने तथा घरनक्सा पासमा आवश्यक अनुगमन गरि व्यवस्थिति वसोबासको चाँजोपाँजो मिलाउने र वुढीखोलाका कारण जोखिममा परेका वस्तिलाई जोगाउन नदीमा तटवन्धन निर्माण कार्यक्रम ल्याउने उम्मेदवारी सरदारले बताए ।
सार्वजनिक प्रतिबद्धतामा मनमोहन प्राविधिक विश्वविद्यालयमा हरेकवर्ष १० लाखका दरले अक्षयकोषका लागि बजेट विनियोजन गरी एकसय जनालाई सीप परीक्षण सहितको तालिम उपलब्ध गराइने, सडकको स्तरोन्नती गरिने, पाँचवर्षभित्रमा बेरोजगारी घटाई स्वरोजगारमूलक कार्यमा संलग्न गराइने, कृषकलागि विउ विजनमा अनुदान, कृषिलाई प्रोत्साहन, व्यवसायिक पशुपालनका लागि अनुदान, व्यवस्थित कृषि वजारको स्थापना गरिने सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
दलित, पछाडि पारिएको समुदायलाई सीपमूलक तालिम दिई रोजगार बनाईने, जेष्ठ नागरिकलाई सहज रुपमा भत्ता वितरण गरिने लगायतका प्रतिबद्धता अध्यक्षका उम्मेदवार सरदारले सार्बजनिक गरे । उपाध्यक्षका उम्मेदवार तुलसी कुँवर विष्टले शिक्षकलाई मासिक रुपमा तलव भुक्तानीको व्यवस्था गर्ने, जनप्रतिनिधिले जनताको गुनासो सुन्ने व्यवस्था गर्ने र पालिकाका सार्वजनिक वडापत्र जारी गर्ने प्रतिवद्धतामा व्यक्त गरे । कार्यक्रममा सातवटै वडाका अध्यक्षका उम्मेदवारहरुको उपस्थिति रहेको थियो । नेकपा एमाले प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले स्थानीयको माग र आवश्यकताका आधारमा प्रतिवद्धता पत्र ल्याइएको बताए । ‘हामीले प्रतिबद्धता पत्र सबै कार्यान्वायन गर्नेगरी ल्याएका छौँ, उनले भने, हामी हाम्रा एजेण्डामा हामी स्पष्ट छौँ, भोली नागरिकको लागि सबै कार्यान्वायन गर्न सकिन्छ ।’
वडा नम्बर १ का राजन घिमिरे,२ का प्रमोद माझी,वडा नम्बर ३ का अमिरलाल भगत, वडा नम्बर ४ का सागर बराल, वडा नम्बर ५ को शिवनारयण माझी, वडा नम्बर ६ का गोठलु गच्छदार र वडा नम्बर ७ का पंगज चौधरीले वडा स्तरमा भएका गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार