विराटनगर । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागी हुन जापान पुगेकी विराटनगरकी न्यान्सी खडकाले त्यहाँको विभिन्न सहरका मेयरहरुसंग भेट गरेकी छन् ।
डिसेम्बर १३ मा टोकियोमा हुने ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्न टोकियो पुगेकी न्यान्सीले मिस इन्टरनेसनलको शनिबार सम्पन्न एक मिट एण्ड ग्रीट कार्यक्रममा जापानका सहरहरु फुकुसिमा र तोमिओकाका मेयरसँग भेट्ने मौका दिइएको थियो ।
प्रतिष्पर्धामा सहभागी हुन जापान पुगेका ६८ सुन्दरी मध्ये नेपालसहित अन्य १३ देशका सुन्दरीले मेयरसँग भेटवार्ता गरे ।
मिस नेपाल इन्टरनेसनल विजेता न्यान्सी सहितका प्रतिस्पर्धी सुन्दरीलाई आयोजकले सामाजिक र वातावरणीय कामको जिम्मेवारी दिएका छन् । सोहीअनुसार सबटाइटल विजेता घोषणा गर्ने मिस इन्टरनेसनलको तयारी छ । नेपाल पनि यस टाइटलको दाबेदारमध्ये एक हो ।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले नेपालको तर्फबाट न्यान्सीले मेयरहरुसँग भेटवार्ता गरेको जनाएकाे छ ।
कोरोना महामारीको कारण यसअघि दुई वर्ष भर्चुअल रुपमा भएको प्रतियोगिता यसपटक भौतिक रुपमा हुन लागेको हो । ६८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्ने यसपटकको संस्करणमा राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सघाउन ‘ब्युुटीज् फर एसडीजी’ नारा राखिएको छ । अनलाइनखबरबाट