Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कांग्रेसको चुनावी सभा आजदेखि , कहाँ कुन नेताको सम्बोधन?



विराटनगर । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वैशाख २१ गते (बुधबार) विराटनगरमा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।

यसैगरी वैशाख २२ भरतपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत वक्ता तय गरिएको छ।वैशाख २३ गते काठमाडौंमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ता रहेका छन् भने वैशाख २४ गते बुटवलमा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा, वैशाख २४ गते दमौलीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायत अन्य वक्ताहरू सहभागी हुने मुख्यसचिव पौडेलले बताए।

त्यस्तै वैशाख २४ गते नै जनकपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, वैशाख २५ गते पोखरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार सहभागी हुनेछन्।

त्यसैगरी, वैशाख २५ गते तुलसीपुरमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत वक्ताहरू तय गरिएको मुख्यसचिव पौडेलले बताए। वैशाख २६ गते धनगढीमा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा वैशाख २७ गते डडेल्धुरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायत अन्य वक्ताहरू निर्धारण गरिएको पौडेलले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार