Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा



काठमाडौं । नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिको दाबेदार बनेको हो ।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११।४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितको लागि परिमार्जन यादवले अविजित अर्धशतक बनाए । उनी ३५ बलमा ५९ रनमा नटआउट रहे । शिवांश बजगाइले अविजित २३ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसिया, नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि ९० रनमा अलआउट भएको थियो । मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए । सुभम खनालले ३ र कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १/१ विकेट लिए ।

नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार