Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकारले थाल्यो बजेटको तयारी



विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटको तयारी थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सचिवहरूलाई निर्देशन दिँदै नीति, कार्यक्रम र बजेट एकआपसमा समन्वयित र प्रभावकारी हुनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले सरकारका नीति कार्यक्रम र बजेटबीच तारतम्य नहुँदा सकारात्मक सन्देश नजाने स्पष्ट पार्दै यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। “नीति पनि बनाइन्छ, कार्यक्रम पनि आउँछ, तर बजेट त्यहीअनुसार आउँदैन। यसले राम्रो सन्देश दिंदैन, तुरुन्त सुधार गर्नुपर्छ,” उनले भने।

मुख्यमन्त्रीले प्रदेशको स्रोत, साधन र क्षमता अनुसार यथार्थपरक र स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिँदै, नीति बनाउँदा आवधिक योजना अध्ययन गरी त्यसका प्राथमिकतालाई ध्यान दिन आग्रह गरे।

उनले अबको नीति कार्यक्रम केवल सडक र पुलपुलेसा निर्माणमा सीमित नरही मानव विकास सूचकांक, स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने बताए। “अब प्रतिनिधिमुखी होइन, जनतामुखी बजेट चाहिन्छ। पहुँचवालाको घरघडेरीमा मात्र विकास केन्द्रित हुनुहुँदैन,” मुख्यमन्त्रीले स्पष्ट पारे।

प्रदेश सरकार स्थापना भएको सात वर्ष बितिसकेकाले अब स्थायी संरचना बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै मुख्यमन्त्रीले भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकारवाला निकायलाई आवश्यक तयारी थाल्न निर्देशन दिए।

मुख्यमन्त्रीले रोजगारी, उद्यमशीलता र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक स्रोत वृद्धि गर्न सकिने योजना अघि सार्नुपर्नेमा जोड दिँदै, संघीय सरकारसँग समन्वय र स्थानीय तहको सहभागिता सुनिश्चित गर्दै लागत साझेदारीमा आधारित कार्यक्रम ल्याउनुपर्ने धारणा राखे।

प्रतिक्रिया
सम्बन्धित समाचार