Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एभरेष्ट स्कुलको एजुकेशन एक्जिबिसन सुरु



विराटनगर । आजदेखि विराटनगरको एभरेष्ट स्कुलमा एजुकेशन एक्जिबिसन सुरु भएको छ । एक्जिबिसनको उद्घाटन गर्दै वैज्ञानिक डा. बिष्णु रायमाझीले एभरेष्ट एजुकेशन एक्जिबिसन बालबालिकाको भविष्यको आकार बनाउने माध्यम हुने बताएका छन् ।

आज विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले यस्तै एक्जिबिसनले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने बताए । आफू सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका पुगेको स्मरण गर्दै आफ्नो रुचि अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको उनले बताए ।
बालबालिकाको रुचि अनुसारको उनीहरुको ‘इनोभेटिभ’ कुरा वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन् भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए । उनले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत बताए ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गरे । उनले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताए ।

‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरिरहेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टी एन भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार