Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वार्ताको माध्यमबाट पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषय टुग्यांउन योगेशको आव्हान



काठमाडौं । नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादलाई वार्ता र संवादमार्फत समाधान गर्न आह्वान गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर सांसद भट्टराईले केबलकार निर्माण गर्ने विषयमा ताप्लेजुङमा क्रियाशील राजनीतिक दल र तीन वटै पालिकाका जनप्रतिनिधिहरूको समान धारणा रहेको समेत बताए । केबलकार निर्माणका विषयमा निर्माणस्थलमा माघ १२ गते भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै उनले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिन समेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

ताप्लेजुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद भट्टराईले सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न आग्रह गरे ।

भट्टराईले पाथीभराको मुख्य मन्दिरभन्दा झन्डै ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने, पाथीभराको टुप्पोमा कुनै होटल वा रेस्टुरेन्ट नबन्ने र २ हजार १ सय १२ वटामात्रै रुख कटान हुने बताए ।

यसैबीच ‘नो केबलकार समूह’ ले सरकारसँगको वार्ताका लागि केबलकार निर्माणको काम रोकिनुपर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनुपर्ने र पक्राउ परेका कार्यकर्ता विना शर्त रिहा हुनुपर्ने माग राखेको छ ।

कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले हिजो औपचारिक वार्ताका लागि आह्वान गरेको थियो । आन्दोलनकारीले आज दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार