Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वराष्ट्रपतिको कोशी प्रदेशमा दौडधुप, एमाले कार्यकर्ताको कुरा सुन्ने, जवाफ नदिने



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी माघ १४ गतेदेखि २० गतेसम्मको कार्यतालिकासहित कोशी प्रदेशमा आएकी छिन् । राष्ट्रपतिबाट बाहिरिएपछि यतिलामो समयसम्म तालिका बनाएर पहिलो पटक उनी विराटनगर आएकी हुन् ।

उनले विराटनगरमा अनेमसंघका कार्यकर्तादेखि पत्रकार, महेन्द्र मोरङ क्याम्पसका बैज्ञानिकदेखि राजनीतिक कार्यकर्तासम्मलाई समय मिलाएर भेटघाट गरिरहेकी छिन् । उनलाई भेट गर्न विषेश गरेर एमालेका कार्यकर्ताहरु लामबद्ध भएर गइरहेका छन् । उनलाई भेट्ने फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्नेहरुको संख्या अत्याधिक छ ।

उनले जनता मावि इटहरी, सोल्टी होटल र विराटनगरको बिग होटलमा १५ र १६ गते कार्यक्रम राखेकीछिन् । मनमोहन विश्वविद्यालयको अनुगमनदेखि बुद्धिजीवि परिषद्सँगको भेटघाट, १७ र १८ गते मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अनुगमन १८ गते सुनसरीको धरान, मोरङको झोराहाट र विराटनगरस्थित एलिट क्लबमा भेटघाटको कार्यसूचि रहेको छ । नेपाल टेलिभिजनको बार्षिकउत्सव १९ गतेदेखि अन्य थुप्रै कार्यक्रम राखेर उनले २० गतेसम्म कोशीमा बस्ने तयारीसहित आएकी हुन् ।

उनको भ्रमणलाई लिएर एमाले केही कार्यकर्ताले उत्साहपूर्वक लिएका छन् भने केहीले राजनीतिमा फर्किने संकेत हो की भनेर हेरेका छन् । भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफ्ना भनाइ राख्ने भन्दापनि कार्यकताहरुको गुनासो सुन्ने, सुझाव लिने गरिरहेको एक एमालेका नेताले बताए । ती नेताले भने – ‘उहाँले कुरा सुन्नु हुन्छ, केही छ भनेर सोध्नु हुन्छ तर राजनीतिक कुरामा भने जवाफ दिनु हुन्न, मुसुक्क मुस्कुराएर बिदा गर्नुहुन्छ ।’

दिनमा केही सिमिति कार्यक्रम रहेको र धेरै समय भने उनले भेटघाट कै लागि छुट्याएकी छिन् । उनको सचिवालयका अनुसार एक समूहलाई बढीमा आधा घण्टाको समय छुट्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार