विराटनगर । इटहरी उपमहानगरपालिकाको प्रशासन शाखामा उपमेयरको नेतृत्वको टोलीले तालाबन्दी गरेको छ । एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडा कार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख सङ्गीता चौधरी लगायतको टोलीले प्रशासन शाखामा तालाबन्दी गरेको हो ।
आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुख दिएको भन्दै चौधरी सहितको टोलीले प्रशासन शाखामा ताला लगाएको हो ।
इटहरी उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले मेयर हेमकर्ण पौडेलको निर्देशनमा सर्भर बन्द गरेको उपमेयर चौधरीले आरोप लगाइन् । सरुवा गरिएका कर्मचारीलाई दबाब दिन सर्भर ‘डिएक्टिभ’ गरेको चौधरीको आरोप छ ।
केही दिन अघि उपमहानगरले कार्यालयको ‘आन्तरिक’ सरुवा गरेको थियो ।आन्तरिक सरुवाको विरोध गरेका कर्मचारीहरूलाई दबाब दिन प्रशासन शाखा प्रमुखले सर्भर डाउन गर्न लगाएको उनको भनाइ छ ।
कर्मचारीहरूलाई बद्नियतपूर्ण तरिकाले सरुवा गरेको र पत्रअनुसार वडामा हाजिर नभएका कर्मचारीहरूले चलाउने आइडी पासवर्ड डीएक्टिभ गरेर सेवाग्राहीलाई समस्यामा पारेको उनले आरोप लगाइन् । इटहरीमा रहेका २० मध्ये इटहरीका १५ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।
पछिल्लो समय कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले मेयर हेमकर्ण पौडेलको ‘कर्मचारी थप्ने’ प्रस्तावलाई अस्वीकार गरेका थिए ।
त्यसैलाई काउन्टर दिन पौडेलकै निर्देशनमा वडा कार्यालयका कर्मचारीहरूलाई बदनियत पूर्वक सरुवा गरेर वडाध्यक्षहरूलाई दबाब दिन खोजेको एमालेले आरोप लगाएको छ ।
मेयर पौडेलको इशारामा प्रशासन शाखा प्रमुख रहेका खड्काले एमालेबाट निर्वाचित भएको वडाहरूमा बारम्बार असहयोग गर्दै आएको आरोप एमालेले लगाउँदै आएको छ । वडाको कामहरूलाई प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायत खड्कामाथि लगाउँदै आएका छन् ।