विराटनगर । नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुरकुमार लिंथेपले विधेयकहरु पर्याप्त छलफल गरेर मात्रै पास गर्ने बताएका छन् । आज कोशी प्रदेश सभामा पत्रकार सम्मेलन गर्दै उनले तल्लो तहसम्मका सरोकारवालासँग छलफल गरेर मात्रै विधेयकहरु पास गर्ने बताए । हिउँदे अधिवेशनमा १० वटा विधेयक सभामा टेबल हुने भएको जानकारी दिँदै उनले यो पटक हिउँदे अधिवेशनका लागि पर्याप्त विजनेस रहेको बताए । तर धेरै विधेयक भएकै कारण हतार भने नगर्ने भन्दै उनले भने – ‘अहिले बाँकी रह्यो भने बरु अर्काे अधिवेशनबाट पास हुन्छ पास गर्नकै लागि हतार गर्नुहुँदैन ।’
कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने लिङथेपले बताए ।
भोलिबाट सुरु हुने अधिवेशनमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको छ । ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेपले बताए । उनले पत्रकारसङ कुराकानी गर्दै प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका रहने बताए ।
कतिपय कानुन बनाउने क्रममा हतार भएको छ यो सिकाइबाट सरोकारवालासङ यस पटक छलफल बढी हुन्छ । उनले प्रदेश सभालाई स्थिर बनाउन एमाले लागि परेको बताए ।