विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग एमालेले एकता नगर्ने प्रस्ट्याउनु भएको छ । उहाँले नेताका टाउको जोड्ने भन्दा पनि कार्यकर्ताको मन जोड्न आवश्यक रहेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई एमालेमा ल्याएर एमालेलाई कुनै फाइदा नहुने प्रस्ट्याउनुभयो ।
पटक पटक पार्टी एकता गर्नु नाटक भन्दा पनि तल झरेर प्रहसन हुने भन्दै उहाँले अहिले एकताको सम्भावना नरहेको बताउनुभयो । नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार बनाउनु उदेश्य सरकारका लागि मात्र नभइ देशको भविष्य र संविधान संसोधन गर्नका लागि सहकार्य भएको बताउनुभयो ।
आज मोरङको ग्रामथानमा नेकपा एमाले मोरङले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले महासचिव पोखरेलले चुनाव जितेर समाजलाई बदल्न एमालेको जित आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय तहहरुमा आधुनिक विकास, प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो । उपनिर्वाचन एमालेको मिसन ८४ का लागि ठुलो अवसर भएको महासचिव पोखरेलको भनाई छ । जिम्मेवारीका साथ पार्टीका नेता कार्यकर्ताहरुले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो ‘ पार्टी र मुलुकको भविश्यको सफलताको रुपमा यो चुनाब लिनु पर्छ ।’