विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले कामलाई तव्रता दिनुपर्ने बताउनुभएको छ । सरकार परिवर्तनका विषयमा अहिले काँग्रेसले केही नसोचेको भन्दै उहाँले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
काँग्रेसले नचाहेसम्म सरकार नढल्ने भन्दै उहाँले अहिले सरकारले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनुपर्ने औंल्याउनुभयो ।
आज विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा उहाँले करिब दुई तिहाइको सरकार भएकाले अहिले नै काँग्रेसले सरकारबाट हात झिक्नु पर्ने अवस्था नरहेको प्रस्ट्याउनु भयो ।
सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तीव्रता दिनुपर्ने उहाँको भनाइ छ । जनताले आशा र अपेक्षा गरेअनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको नेता कोइरालाले टिप्पणी गर्नुभयो ।
रास्वपाप्रति लक्षित गर्दै उहाँले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएकोले न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्रको लोकतन्त्रमा कुनै औचित्य नभएको बताउनुभयो । सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको शेखरले बताउनुभयो ।