Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लामिछानेलाई सडकमार्गबाट पोखरा लगिँदै, पत्नीसमेत लागिन पछि



काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज नै सडक मार्गबाट पोखरा लगिएको छ । प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आज नै पक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

रास्वपा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले सडकमार्ग हुँदै पोखरा लगिरहेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न आज अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरेअनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो ।
लामिछानेको पछि पछि पत्नी निकिता पौडेल र रास्वपाका कार्यकर्तासमेत पोखरा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार