विराटनगर । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ६४ रन जोडेको नेपालले १७ रनले अमेरिकालाई हराएको हो । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेले सर्वाधिक ४९ रन बनाए । यस्तै दीपन्द्रसिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।
जवाफी व्याटिङ गर्दै अमेरिकाले भने पुरै २० ओभर खेल्दै १ सय ४७ रन मात्र जोड्न सक्यो । अमेरिकाका लागि एस जहाँगिरले सर्वाधिक ६० रन जोडे । यस्तै ए गौउसले ३० रन बनाए ।
नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यो टी–२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।
नेपालले अमेरिकासँग टी–२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेलेको हो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ।