काठमाडौं । साफ वुमन्स च्याम्पियनशिप आजदेखि सुरु हुँदै छ । नेपालले लगातार तेश्रो पटक आयोजना गरेको वुमन्स च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिश्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यही हारको पीडालाई बिर्साउँदै यसपटक भारत उपाधि जित्ने लक्ष्यमा छ ।
अशलतादेवीको कप्तानीमा रहेको भारतीय टोली यसपटक बलियो छ । टिममा सिनिय र जुनियर खेलाडीको मिश्रण छ भने गोलमेसिन बाला देवीले यस पटक साफमा पुनरागमन गरेकी छन् । नयाँ प्रशिक्षक सन्तोष कश्यपले टोली सम्हालेका छन् ।
मुख्य प्रशिक्षक सन्तोष कश्यपले साफ वुमन्स च्याम्पियनसिप आफ्नो लागि नयाँ भए पनि टिम राम्रो रहेको र लक्ष्य उपाधि जित्ने भएको बताएका छन् ।
भारतीय कप्तान अशलतादेवीले पाकिस्तानविरुद्धको खेल खेल्दै एक सयौं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछिन् । उनले पाकिस्तानविरुद्धको पहिलो खेल महत्वपूर्ण हुने बताइन् ।
समूह ए मा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश छ । यस समूहबाट भारत र बंगलादेश सेमिफाइनल पुग्ने सम्भावना बलियो छ ।
उता पाकिस्तानी टिममा भने पछिल्लो संस्करणमा प्रशिक्षक रहेका अदिल रिज्की र कप्तान मारिया खान नै यथावत छन् ।
पहिलो खेलमै भारतसँग खेल्नु पाकिस्तानको लागि ठूलो कुरा रहेको मुख्य प्रशिक्षक अदिल रिज्कीले बताए । पाकिस्तानकी कप्तान मारिया खानले च्याम्पियनसिप खेल्न आफूहरु उत्साहित रहेको बताएकी छिन् ।