काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४ सय ९२ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका छन् । आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् । घाइते मध्ये केही अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको जनाएको छ । आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।
हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेपछि हिजबुल्लाहको ठेगानमा कारबाही गरेको इजरायलले जनाएको छ । इजरायली सेनाका अनुसार, कारबाहीका क्रममा दुईजना इजरायली सैनिक घाइते भएका छन् । इजरायलको यो आक्रमण गत अक्टुबर ७ मा हमासविरुद्ध युद्ध सुरु गरेयताकै भयानक भएको हो ।
इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठूलो युद्धमा परिणत हुन सक्ने भन्दै विश्वभरका नेता चिन्तित छन् ।