Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डोनाल्ड ट्रम्पमाथि फेरी गोली प्रहारको प्रयास, हत्या गर्ने उदेश्य रहेको आशंका



काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारले आक्रामण गर्ने प्रयास भएको हो ।

चुनावी प्रचार प्रसारमा रहेका पूर्व राष्ट्रपति ट्रम्पमाथि यस अघि पनि गोली प्रहार भएको थियो । राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्पमाथि लगातार गोली प्रहार भइरहेपछि उनीलाई हत्या गर्ने उदेश्य नै रहेको हुन सक्ने आशंका गरिएको छ ।

गत असारमा पनि पेन्सेलभेनियामा चुनावी अभियानको क्रममा भाषण गरिरहेको बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली लागेर उनको कानमा घाउ भएको थियो । गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका थिए । त्यतिबेला केहीबेर आराम गरेर उनी पुनः राष्ट्रपति निर्वाचनको अभियानमा सक्रिय भएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार यसपटक फ्लोरिडाको वेष्टपाम बीचको गल्फ कोर्स नजिकैको झाडीमा एके–४७ जस्तो देखिने बन्दुक ट्रम्पतिर तेर्स्याएको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५८ वर्षीय र्‍यान वेल्सी रहेका छन् ।

उनी पक्राउ परेको क्षेत्रमा एउटा कालो गाडी, गोप्रो क्यामेरा, झोला र आगो निभाउन प्रयोग गरिने उपकरण पनि फेला परेको थियो ।

अमेरिकी जासुसी संस्था एफबीआईका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास भएको जस्तो देखिन्छ । अलजजिराले ट्रम्प दोस्रोपटक हत्या प्रयासबाट जोगिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनको अर्की उम्मेदवार कमला ह्यारिसले अमेरिकामा हिंसाको कुनै स्थान नभएको प्रतिक्रिया दिएकी छन् । उनले ट्रम्प सुरक्षित भएकोमा आफू खुसी रहेको बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार