काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । रास्वपाको केन्द्रीय समितिको आज बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।
दुई पटक रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै पठाएको पत्रमा उनले उल्टै सभापति रवि लामिछाने ठग भएको भन्दै पत्र पठाउनुभएको थियो । ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । ढकालले रास्वपालाई दिएको जवाफ स्पष्टीकरण नभई कुण्ठा व्यक्त गरिएको नेताहरुले बताएका छन् ।
असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गर्नुभएन् ।
आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिनु भएको छ । रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उहाँले आयोगसँग आग्रह गर्नुभएको छ । ढकालको निवेदनमाथि आयोगले अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।