प्रतिनिधिसभा बैठकमा प्रम ओली
काठमाडौँ, ७ साउनः
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस
काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतीको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए ।
‘‘वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने छ ।,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘भ्रष्टाचारमा शून्य शहनशिलताको नीति अनुरुप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गरिनेछ ।
भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइनेछ ।’’
उनले सरकारका सबै अङ्गहरुमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने बताए । उनले सार्वजनिक खरिद कानुनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने पनि बताए । उनले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्याङ्कन प्रणाली अवलम्वन गर्ने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमी व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबिच अन्तरआवद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिनुभयो ।